सबै जान्ने नेपाली

posted in: General | 0
  • चिया पसल, भट्टी पसल  र पार्टीहरु: जमघट अड्डा ।

– डा निर्मल कणेल, दिसम्वर ३०, २०१८

दिसंबर ३०, २०१८ मा काठमाण्डु पोष्टमा प्रकाशित लेख भेषराज कणेल द्वारा नेपालीमा रुपान्तरिक।

नेपालका गाँउ, शहर वा विदेशमा वस्‍ने सुविधा सम्पन्न नेपालीहरुको यस्तो समूह छ, जसका सदस्यहरुमा एक  विशेष लक्षण हुन्छ : उनीहरु मानिसहरुबिच घुलमिल हुन र जुनसुकै विषयमा पनि आफ्नो विशेषज्ञ राय दिन मन पराउछन । यी विचित्र विशेषज्ञहरुको एक अर्को एक विशेषता पनि छ: यी सवै जान्नेहरु मुख्यत: पुरुष नै हुन्छन, जुन नेपालको पितृसत्तामक समाजको प्रतिविम्व पनि हो । यी पुरुषहरु आफ्नो स्वघोषित विशेषज्ञताको दिनभर गुड्डी हाँक्न थाक्दैनन । कहाँबाट आएका हुन, अहिले कहां बसोबास गरी रहेछन् र सामयिक राजनैतिक चर्चाको विषय के हो, सो मात्रै फरक हुन्छ ।

उदाहरणका निम्ति गाउँका “हरी काका” नै लिउँ । उनी बिहान उठ्छन्, एक कप दुध र मरिच हालेको गुलियो तातो चिया फुक्दै पिउँछन, आफ्नो दैनिकी सिद्ध्याउँछन् र आफ्नी पत्निलाई देउरालीमा मिटिङ्गमा जानु छ भन्दै निस्किन्छन् । त्यस्तै यता काठमाण्डौमा “हरि सर” बिहान उठछन्, तौल घटाउन धुलो भरिएको बाटोमा मर्निङ्ग वाकमा निस्कन्छन्,  घर फर्की अखबार पढ्दै हरियो चिया पिउँछन् । आफ्नी श्रीमती शकुन्तलालाई अफिसमा धेरै काम छ, म व्यस्त हुन्छु आज भनेर घरबाट निस्किन्छन्। अफिस पुग्ने वित्तिकै हाजीर ठोक्छन, क्यान्टिनमा चिया पिउँदै  गफमा मिस्सिन पुगी हाल्छन् । यो त कार्यालयको कामको एक अभिन्न अंग भएको छ उनका निम्ति । उता अर्को हरी डिभि परेर अमेरिका पुग्छन् र केही महिनामै उनले आफूलाई ह्यारी भन्दै परिचय गराउन थाल्दछन् । म्यानह्याटनको छेउमा उनले विहानै कफीको गिलास समाई हतार हतारमा विहानको खाना पोको पार्छन् र सुतीरहेकी आफ्नी श्रिमतीलाई “डार्लिंग,  हर्खवहादुरकहाँ आज पार्टी छ, खानपीन उतै हुन्छ,  मलाई अलि ढिलो हुन्छ” सुनाउँदै  फटाफट निस्किन्छन् ।

हरेक विषयका ज्ञाता

 यी “सवै जान्नेहरु” जम्मा हुन चिया पसल, क्यान्टिन, भट्टी र रंगीन पार्टीहरुमा छिर्छन र आफु सवै विषयका जानकार भएको सोच्दछन् । हामीले यस्ता छलफललाई “चिया पसलको गफ” भन्ने गर्दछौं । यिनका अड्डा  अब त अलि विस्तार पनि भएका छन् । आजकल त  ट्विटर, फेसवुक जस्ता आभासी संसार यिनीहरुका भेटघाट र गफ गाफका निम्ति पूर्वनिर्धारित अड्डा पनि बनिसकेका छन् ।  कसैले मागोस नमागोस आफ्नो अति मह्त्वपूर्ण दृष्टिकोण, परामर्श र विशेषज्ञता फुटी कौडी नलिइकनै उपलब्ध गराउन कुनै मौका वा मंच छोड्दैनन् यिनीहरु । 

हरी काका एक कृषक हुन, तर उनले कृषिबारे आफ्नो अनुभवबाट प्राप्त  ज्ञान र सीपवारे  कहिल्यै बोल्दैनन् । “गाउँ विकास समिति अध्यक्षले विकास निर्माणका निम्ति किन कुनै काम गर्न सकेनन् वा बाटा-घाटा, विद्यालय, स्वास्थ्य चौकी बनाउन  सुधार्न किन सकेनन ? अध्यक्ष भ्रष्ट भएकोले नै यो भएको हो” भन्नेमा उनी दृढ छन् र मौका मिल्नासाथ यो तत्व ज्ञान बाँड्न चुक्दैनन् । हरी सर शिक्षा मंत्रालयका शाखा अधिकृत  हुन्, तर शाखा प्रमुख कसरी प्रभावकारी हुन सक्दछन भन्ने कुरो उनी कहिल्यै चर्चा गर्दैनन् । तर उनलाई राम्रोसंग थाहा छ: स्वास्थ्य मंत्रीले राम्रो काम किन गरेनन, डाक्टर र नर्सहरुको सुपरिवेक्षण किन गर्दैनन्, किन डाक्टरहरुलाई ग्रामीण क्षेत्रमा खटाउन सक्दैनन् । उता अमेरिकामा बस्‍ने ह्यारी सब-वेमा काम गर्छन् । तर भान्सा कसरी सफा गर्ने, वातावरण स्वस्थ्य कसरी राख्‍ने भन्ने बारे आफ्नो अनुभवबारे चुइक्क पनि बोल्दैनन् । तर उनी किन हाम्रो सरकार असफल भैराख्याछ, नयाँ विमानस्थल किन बनी रहेका छैनन,  मंत्रीहरुलाई राम्रोसंग अंग्रेजी पनि बोल्न आउदैन भन्ने विषयमा आफुलाई राम्रो दखल भएको ठान्दछन् र मौका पाउनासाथ व्यक्त गर्न कहिले पनि छुटाउदैनन् ।

यी कुराहरु हरी काका, हरी सर वा ह्यारी बारे मात्रै होईन, यी त ती सबै आफूलाई “सबै जान्ने” भूत सबार नेपालीहरुको गफ गाफ बारेका कुरा हुन् । अरुका खोट देख्‍ने, अरुका थाप्लामा दोष थोपर्ने  र आफू नै “सबै जान्ने” हरुको चरित्र हो । उनीहरुसंग समाधानका उपायहरु भै हाले पनि चिया गफमा मात्र भन्ने गर्दछन्, उपयुक्त ठाउँमा बोल्दैनन् र ठोस प्रमाण पनि उनीहरुसंग हुदैन । ईन्जिनियरले ग्रामीण क्षेत्रमा डाक्टरहरु कसरी परिचालन गर्नु पर्दछ सो विषयमा बोल्दछन्, आफूसंग विश्‍व दृष्टिकोण भएको जीकिर गर्दछन्, तर अस्पतालका पूर्वाधारको विकास कसरी गर्ने सो बारे उनीहरु कुनै सुझाव दिंदैनन् । वकीलहरु जलविद्युत विशेषज्ञ बन्दछन्, तर वातावरणमा यसको प्रभाववारे यिनीहरुलाई थाहै हुदैन । विमानस्थल निर्माण वातावरण अनुकूल हुंदैन भन्ने राय डाक्टरहरु दिन्छन् ।

यसकिसिमका “प्रबुद्ध वर्ग” लाई तीन समूहमा वर्गीकरण गर्न सकिन्छ । पहिलो वर्गमा हरी काका, हरी सरलाई राख्‍न सकिन्छ, जो सवै विषयमा आफुलाई राष्ट्रिय स्तरको विशेषज्ञ मान्दछन् । यिनीहरुको विशेषज्ञ परामर्श या त यता उती सुनेको भरमा हुन्छ, या गुगलबाट पाएको, अथवा राजनैतिक प्रभावको आधारमा । दोश्रो वर्ग भित्र “ह्यारी”हरु पर्दछन्, जो देश छोडी विदेशमा गएका छन् र संधै आफूलाई सबै थाहा भएको ठान्दछन् । उनीहरुले संधै नेपालका जनतालाई वा नेपाल सरकारलाई गाली गरी रहन्छन् । उनीहरु ठान्दछन्, अधिकांश नेपालीहरु मेहेनत गर्दैनन्, गफ गरेर समय विताउँछन् र राजनितिले ग्रस्त छन् । यिनीहरु सधै भन्ने गर्दछन्: नेपालमा जुनसुकै सरकार आए पनि भ्रष्टाचारमा लिप्त हुन्छ,  देश विकासमा ध्यानै दिन्न। 

तेश्रो बर्गका “सबै जान्ने”हरु हुन: वहुराष्ट्रिय कंपनीहरु, अन्तर्राष्ट्रीय संघ संस्था वा विश्वविद्यालयहरुमा काम गर्ने हरु । जुनसुकै विधाको शिक्षा वा विशेषज्ञताको पृष्टभूमी होस, यिनीहरुको विशेषज्ञता क्षेत्रको सीमा नै हुंदैन । यिनीहरुसंग अमेरिका र चीनविचको व्यापार युद्ध तुरुन्त हल गर्न सक्ने क्षमता हुन्छ । अमेरिकाको नया राष्ट्रपति को हुनेछ भन्ने यिनीहरुलाई थाहा भैसकेको हुन्छ । नेपालले चीन र भारतसंग कस्तो संवन्ध राख्नु पर्दछ भन्ने विषयमा त यिनीहरुको दख्खल अलौकिक हुन्छ । 

पूर्वाग्रही दृष्टिकोण

यी “जान्नेहरु’को अर्को विशेषता पनि छ । यिनीहरु आफ्नो परामर्श देशमा आउँदा दिदैनन्, बाहिर भए पनि पठाउँदैनन् । म यहाँ त्यस्ता जान्नेहरुको समूहबारे भन्दै छु, जसको राय या परामर्श खोजिएको हुदैन, तिनका राय प्राय: पूर्वाग्रही हुन्छन् । हामीहरु सबै देशमा आर्थिक समृद्धी होस भन्ने चाहन्छौं । तर यसको अर्थ हामीले जेमा पनि खोट निकाल्ने, नेपालका जनता, संस्था वा सरकारलाई दोष दिने गरेर मात्र त हुँदैन । कुनै ईन्जिनियरले भ्रष्टाचार गर्यो भने यो वर्गले पुरै ईन्जिनियरिङ्ग समुदायलाई दोषी हुन् भन्ठान्छ । यो लेखमा “यसले त मेरोबारे पो यसो भन्यो” भन्ने कसैलाई लाग्छ  भने हो,  त्यो व्यक्ति निश्‍चय नै यही समूहभित्र पर्दछ, र म त्यसलाई नि:शुल्क परामर्श दिन्छु: तपाईले आफ्नो वानी व्यहोरा सुधार्नोस् र व्यवहारीक एवं रचनात्मक हुन थाल्नु होस् । 

अस्तु:

Leave a Reply

Your email address will not be published. Required fields are marked *